नियम ३२
तत्काल जरिबाना गर्दा अपनाउनु पर्ने अन्य कार्यविधि
: (१) ऐनको दफा ३९ को उपदफा (१) बमोजिम तत्काल जरिबाना गर्नु परेमा निरीक्षण अधिकृतले अनुसूची-१० बमोजिमको ढाँचामा आदेश पर्चा खडा गरी सोको एक प्रति त्यस्तो जरिबाना तिर्नुपर्ने व्यक्तिलाई बुझाई सोको भरपाई समेत गराउनु पर्नेछ।

(२) उपनियम (१) बमोजिम जरिबानाको रकम निर्धारण गर्दा निरीक्षण अधिकृतले ऐनको दफा ३९ को उपदफा (१) र्‌ (२) को अधीनमा रही सम्बन्धित व्यक्तिले गरेको कसूरको प्रकृति, त्यसको मात्रा र त्यसबाट उपभोक्तामा पर्नसक्ने प्रतिकूल प्रभाव समेतको आधारमा निर्धारण गर्नु पनेछ ।

(३) उपनियम (१) बमोजिम जरिबानाको आदेश दिँदा निरीक्षण अधिकृतले जरिबानाको रकम, त्यस्तो जरिबाना बुझाउने स्थान (बैङ्कको नाम, खाता नम्बर) र जरिबाना दाखिला गर्नुपर्ने अन्तिम मिति समेत तोकिदिनु पर्नेछ। (४) उपनियम (१) बमोजिम निरीक्षण अधिकृतले दिएको आदेश सम्बन्धित व्यक्तिले बुझिलिन इन्कार गरेमा वा सो कार्यमा कुनै बाधा अवरोध गरेमा निरीक्षण अधिकृतले स्थानीय प्रहरीको सहयोगमा त्यस्तो जरिबानाको आदेश निजलाई बुझाउन लगाउन सक्नेछ ।

(५) निरीक्षण अधिकृतले ऐनको दफा ३९ बमोजिम आफूले गरेको तत्काल जरिबाना सम्बन्धी आदेशको अभिलेख अनुसूची-११ बमोजिमको ढाँचामा राख्नु पर्नेछ ।